हैजा एक संक्रामक रोग हो । यसलाई अंग्रेजीमा कोलेरा भनिन्छ । भिब्रियो कोलेरा नामको ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई हैजा हुने गर्दछ । यो सामान्य डाइरिया नभएर विनाशकारी खालको हुन्छ । यो रोग प्राय वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ । सरसफाइ र सफा पिउने पानीको अभावले यसको जोखिमलाई बढाउने गर्दछन् । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ । हैजा २०० वर्ष पहिला नै पत्ता लागेको रोग हो । अहिलेसम्म विश्वव्यापी रुपमा ७ पटक यसले महामारी ल्याइसकेको छ । नेपालको सन्दर्भमा हैजा समय–समयमा देशको विभिन्न भू–भागमा देखिने गरेको छ । तर, वृहतस्तरमा भने सन् २००९ मा जाजरकोट जिल्लामा देखिएको थियो । जहाँ करिब ३० हजार जनामा हैजा देखिएको थियो । जसमध्ये ५ सय जनाले ज्यान गुमाए । त्यसपछि रौतहट जिल्लामा सन् २०१४ सालमा ६ सय जनाभन्दा बढी हैजाका बिरामी भएका थिए । हालै पनि काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन जनमानसलाई अपिल गरिरहेको छ ।
हैजा हुने कारण के हो ?
दूषित पानी र दूषित भोजन गर्दा जीवाणुले आन्द्रामा विष छाड्ने गर्छ र हैजाको संक्रमण हुने गर्छ । अशुद्ध पानीबाट उमारेको तरकारीहरु राम्रोसँग नपखाली खाँदा पनि यसको संक्रमण हुनसक्छ । राम्रोसँग नपाकेको माछाको मासु खाँदा पनि यो रोग लाग्ने गर्छ ।
हैजाका लक्षणः हैजाको लक्षण केही दिन या केही घण्टामा देखिने गर्दछ । केही व्यक्तिमा गम्भीर अवस्था पनि उत्पन्न गराउँछ ।
- झाडापखाला हुने
- चौलानीजस्तो निरन्तर पातलो दिशा हुने
- वाकवाकी लाग्ने —इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ
- छालाको लचकतामा कमी आउने
- सही समयमा उपचार नपाउँदा मृत्युसमेत हुने गर्छ
- आँखाहरु गाडिने
- मांसपेशी दुख्ने
- शरीर कमजोर हुने
हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् । यसको लक्षण केही व्यक्तिमा मध्यम खालको देखिन्छ । केहीमा अति गम्भीर हुन्छ भने केहीमा लक्षण नै नदेखिने हुन्छ । जीवाणुबाट संक्रमित अधिकांश व्यक्तिमा हल्का लक्षण या कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ । हैजाको उपचार उचित समयमा नगर्दा बिरामीका लागि गम्भीर अवस्था बन्न सक्छ । हैजाका बिरामीको मूल्यांकन गरी उचित उपचार गराएर गम्भीर बिरामीलाई बचाउन सकिन्छ ।
यसको उपचार विधि :–
रिहाइड्रेशन – उम्लिएको मनतातो पानीमा जीवनजल मिलाएर खाँदा यसको लक्षण कम हुन्छ । गम्भीर रुपको बिरामी जसको शरीरमा पानीको मात्रा कम हुन्छ । उनीहरुलाई चिकित्सकले नसाको माध्यमबाट पानी दिइने गरिन्छ ।
एन्टीबायोटिक्स – गम्भीर लक्षणको प्रभाव कम गर्नको लागि चिकित्सक केही एन्टीबायोटिक औषधीको डोज दिइन्छ । (केही एन्टीबायोटिक्स औषधीमा अहिले रेसिस्टेन्स विकास छ । अर्थात एन्टीबायोटिक्स विरुद्ध जीवाणुले रेसिस्टेन्स विकास गरेको हुँदा औषधीले काम नगर्ने अवस्था सृजना भएको छ । त्यसैले चिकित्सकको सल्लाह अनुसार मात्रै औषधी खानुपर्ने हुन्छ ।)
१० वर्ष र त्यसमाथिको उमेरवर्गका जसमा हैजाको सामान्य लक्षण देखिएको व्यक्तिहरुले घरमा नै साढे २ लिटर जीवन जल पानी खाने गर्दा पनि विस्तारै निको हुने हुन्छ । त्यस्तै, ३० केजी वजनभन्दा माथिका बालबालिकालाई साढे ३ देखि ४ लिटर दैनिक जीवन जल दिनुपर्छ ।
गम्भीर बिरामी जसको रिहाइड्रेशनको समस्या छ । उनीहरुलाई नसा पानी नै चढाउनुपर्ने हुन्छ । निरन्तर अत्याधिक दिसा लागेको कारण ‘हाइपो भोल्युमिक सक’ हुने पनि हुन्छ । हैजाबाट मृत्यु गराउने ‘हाइपो भोल्युमिक सक’ नै हो । सक हुँदा मुटुले सक्रिय रुपमा रगत पम्प गर्न सक्दैन् । यसले पनि शरीरको प्रमुख अङ्गलाई ड्यामेज गर्ने देखिन्छ । पर्याप्त मात्रामा टाउकोमा रगत नपुग्दा मस्तिष्कको तन्तुहरु मर्ने हुन्छ । सबैभन्दा जोखिम भनेको किड्नीको हुन्छ । यसले किड्नीलाई पनि ड्यामेज गराउने गर्छ । हैजाबाट मृत्यु गराउने ‘हाइपो भोल्युमिक सक’ नै हो ।
कसरी बच्ने ?
हैजाविरुद्ध भ्याक्सिन बनेको छ । सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सामान्य रूपमा यसको सिफारिस गर्दैन् । किनभने यो प्राप्त गर्ने आधा मानिसको पूर्ण रुपले रक्षा गर्न सक्दैन् । केही महिनासम्म मात्रै यसले सुरक्षा दिन्छ । यद्यपी उम्लिएको पानी उपयोग गरी आफू र आफ्नो परिवारको रक्षा गर्न सकिन्छ ।
- शुद्ध पानी खाने,
- साबुनपानीले पटक–पटक हातखुट्टा राम्रोसँग धुने,
- अन्य कामकाज, खेलकुद र बाहिरबाट आउँदा राम्रोसँग साबुनपानीले हातखुट्टा धोएरमात्र घरभित्र पस्ने,
- खानका लागि प्रयोग गर्ने भाडाहरु राम्रोसँग सफा गर्ने,
- सागसब्जी राम्रोसँग पखालेर/ जोखिमयुक्त क्षेत्रमा उमालेर मात्र खाने
- सफा शौचालयको प्रयोग गर्ने
सरकारले यस महामारी नियन्त्रणका लागि जोखिमपूर्ण मानिएको स्थानमा जनचेतना फैलाउने, खुल्ला दिशापिसाबमुक्त अभियानलाई शशक्त बनाउने र विकट क्षेत्र जहाँ औषधी अभाव छ, त्यहाँ हैजाको औषधी र जीवनजलहरु बेला–बेलामा पठाइरहनुपर्ने देखिन्छ । त्यसबाहेक प्रत्येक घरमा सफा पिउने पानीको व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।
पटक–पटक दुषित पानीकै कारणले यस्तो महामारी फैलिरहने भएकोले सरकारले यसको पूर्वतयारीका लागि ठोस कदम चाल्न पर्ने देखिन्छ । नेपालमा सरकारले कुल ग्राहस्थ उत्पादनको जनस्वास्थ्यका लागि २ प्रतिशत मात्रै खर्च गरेको तथ्यांकले देखाउँछ । जुन पर्याप्त छैन ।
श्रोत: https://www.healthaawaj.com/primary-health/60316/